प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव: पूर्वप्रधानमन्त्री देउवा

म्याग्दी | पुस २८, २०८१

प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव: पूर्वप्रधानमन्त्री देउवा

म्याग्दी:    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ ।

    
बेनीमा आजदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटन गर्नुहुँदै देउवाले जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आयआर्जजनका  अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । 

    
“प्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी बनाउने नीति निर्माणका लागि राजनीतिक रुपमा प्रयास भएको छ”, उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ ।” उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    
फरक प्रसङ्गमा देउवाले म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजनाका रुपमा विकास गर्न बजेट व्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    
बेनीको खुलामञ्च खेलमैदानलाई स्तरोन्नति गर्ने, बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणलाई पूर्णता दिने, मालढुङ्गा–बेनीलगायत सडक आयोजनालाई गतिदिने, बेनीबजार संरक्षणका कामलाई बजेट व्यवस्था गर्न पहल गर्ने देउवाले प्रतिबद्धता जनाउनुभयो । 

    
म्याग्दी उद्योग वाणिज्य सङ्घको मूल आयोजनामा माघे सङ्क्रान्ति पर्वका अवसरमा महोत्सव आयोजना गरिएको हो । चीन र भारतको व्यापारिक प्राचीन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’का रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख व्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

    
दस दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र रु १० करोड बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ । म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।  

    
स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोकदोहोरी गीत, कलाकारहरुको प्रस्तुति महोत्सवका आकर्षक रहने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल, एकल लोकनृत्य, जतजातिको भाँकी प्रदर्शनी पनि आयोजना गरिएको छ ।    

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्